काठमाडौं – सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सबै तहको संयन्त्र परिचालन गरी एकै पटक एकै समयमा मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी गराउनुभएको हो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई बहाना बनाएर अस्वभाविक मूल्यवृद्धि गर्नेमाथि अंशुक लगाउदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको बताउनुभयो । मन्त्री बडुले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियामक निकायसँगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सबै पालीकाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले उपभोक्ताले थाहा पाउने गरी अनुगमनको जानकारी सात–सात दिनमा सार्वजनिक गरिने बताउनुभयो । त्यस्तै मन्त्री बडुले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थमन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पार्नुभएको छ ।