काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सच्चा कम्युनिस्टहरूलाई एकीकृत र केन्द्रीकृत गरेर लैजाने बताउनुभएको छ । उहाँले पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै विभाजित भई विभिन्न पार्टीमा लागेका माओवादी साथीहरू पहिले एक हुनुपर्ने र बलियो शक्तिका रूपमा देखा परेपछि माओवादी भन्दा बाहिर रहेका कम्युनिस्टलाई पनि एकै ठाउँमा ल्याइने बताउनुभएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाडेका नेताहरू ओमप्रकाश पुन र शंकर खड्का लगायतलाई माओवादीमा प्रवेश गराउँदै आज पेरिसडाँडामा अध्यक्ष प्रचण्डले भन्नुभयो ‘माओवादीमात्रै मिलेर हुन्छ भन्ने भ्रममा नपरौं । माओवादी बाहिर रहेका सच्चा कम्युनिस्टहरूलाई पनि समेट्नुपर्छ । उनीहरू अवसरवादी छैनन् ।’

अध्यक्ष प्रचण्डले नेकपा एमालेभित्रको नेतृत्व प्रतिगमनकारी रहेको बताउँदै एमालेभित्रका कार्यकर्तालाई समाजवादको यात्रामा डोहो¥याउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले तीन वर्ष अनुभव गरेँ– एमाले भित्रका कार्यकर्तालाई पनि समाजवादको यात्रामा डोहो¥याउन सकिन्छ । एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिन्छ,’ ‘त्यहाँ (एमालेभित्र) बीऊ रोपिएको छ हामी माओवादीले। हेर्नुहोला केही समयपछि फूल्छ, फल्छ ।’

उहाँले विप्लव, मोहन वैद्य, धर्मेन्द्र बास्तोलालगायत शीर्ष नेताहरुलाई पनि माओवादीमा आउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘साथीहरू एकपटक गम्भीर आत्मसमीक्षा गरौं । सबैले आफ्नो कमजोरी स्वीकार्ने आँट गरौं र एकठाउँमा ल्याऔं, माओवादी पहिले एकठाउँमा हुनुपर्दछ भन्ने भावनालाई सम्मान गर्नुपर्छ ।’ माओवादी आन्दोलन प्रचण्डको नेतृत्वमा मात्रै सम्भव रहेको बताउँदै उहाँले भन्नुभयो, ‘फेरि प्रचण्डकहाँ जाने भनेर कसैले लाज नमानौं ।’