काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । उहाँले आज मङ्गलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्नुभएको हो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । वामदेव गौतम नेतृत्वको नयाँ पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ हुने भएको छ ।

वामदेव गौतम संयोजक रहने गरी घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने जानकारी दिनुभयो । उहाँका अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहनेछ । गौतमका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी गठन गरिनेछ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आज बिहान ६९ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि थप भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की रहनु भएको छ । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । यस्तो छ सचिवालय–
संयोजक – वामदेव गौतम
सचिव– डिबी काकी
सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।