ललितपुर – ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा डिउटी सकेर घर फर्कंदै गरेका एक चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको छ । आइतबार साँझ ९ बजेतिर आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ डिउटी सकेर घर फर्किदै गर्दा राति हिँडेको निहुँमा ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेको बताइएको छ ।

आइतबार राति आफू पैदल हिँडिरहेको बेला कुसुन्तीमा थापाले कुटपिट गरेको भन्दै डा. घिसिङले नेपाल चिकित्सक सङ्घमा ध्यानाकर्षण गराउनुभएको छ । बिनाकुनै कसुर ती ट्राफिक प्रहरीले आफूमाथि हमला गरेको र अस्पतालको परिचयपत्र देखाउँदा समेत सहज वातावरण नभएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

ट्राफिक प्रहरीको कुटाइबाट डा. घिसिङको अनुहारका विभिन्न भागमा चोट लागेको छ । यता, ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले सार्वजनिकस्थलमा प्रहरीले नागरिकलाई कुटपिट गर्न नहुने भन्दै थापाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको छ । घटाबारे किटानी जाहेरी परेपछि कारबाही अघि बढाइने शाहले बताउनुभयो ।