सुनसरी – सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । नदिमा पानीको बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले डुङ्गा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रतिबन्ध लगाइएकोे छ ।

जिल्ला प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमन कार्यलाई निरन्तरता दिएको छ । सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको पनि बताएको छ । यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा नरहेको जनाएको छ । कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोसीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

पछिल्लो मापन अनुसार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख २६ हजार ५ सय ५ क्युसेक रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको र कहीँ कतै कटानको खबर नरहेको बताउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।