काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजानको संसदको आयोजनामा असार १६–१७ मा बाकुमा हुन लागेको असंलग्न आन्दोलन संसदीय सञ्जालको कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ । कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा अभियानका पक्ष राष्ट्रका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्तता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उक्त प्रतिनिधिमण्डललाई सम्मेलनमा जानुअघि खानेपानीमन्त्री उमाकान्त चौधरी, सङ्घीय संसदका महासचिव र प्रतिनिधिसभाका सचिवलगायतले बिदाइ गर्नुभएको थियो । अजरबैजानको सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल असार १९ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।