फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्दै आएको थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण हिजो सोमबार बैठक बस्न नपाएपछि आज दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।

एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले हिजो सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसक्नुभएको छ ।

हाल सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी हुनुहुन्छ नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि आज प्रधानमन्त्री निवासमा पहिलो बैठक बस्न लागेको हो।