फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुनले विश्व व्यवस्थामा ठूलै परिवर्तनको सङ्केत देखापरेको बताउनुभएको छ । उहाँले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको पनि बताउनुभयो । उहाँले अहिले विश्व नै आर्थिक सङ्कटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्दै त्यसका लागि पुुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क व्यक्त गर्नुभयो ।

पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उहाँले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताउनुभयो । राजधानीमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा बोल्दै पुनले भन्नुभयो, ‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ । यो पुँजीवादी विश्व व्यवस्थामा आएको सङ्कट हो । मार्क्सले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ । त्यो समय अब आएको छ ।’

पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको उहाँले दावी गर्नुभयो । केही प्रदेश र पालिकाहरुले जनताको आधारभूत स्वास्थ्य निःशुल्क गरेको बताउँदै उहाँले भन्नुभयो– ‘हामीले संविधानमा नेपाललाई समाजवाद उन्मुख भनेका छौं’, ‘त्यो भनेको शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी हो ।’

स्थानीय पालिकाहरुले आधारभूत स्वास्थ्य निःशुल्क गरेको छ । प्रदेश सरकारले पनि केही ठाउँमा गरेको छ । समाजवादलाई रणनीतिक लक्ष्य बनाएर सामाजिक सुधार गर्नुपर्छ । पुनले उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि तथा त्यसको न्यायिक वितरणमार्फत समाजवादको आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताउनुभयो । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको नकारात्मक प्रभावका कारण विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने भन्दै उहाँले नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।