फाइल तस्वीर

काठमाडौं – जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ । हिजो सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

हाल जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री हुनुहुन्छ । अब उहाँहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरिने बताइएको छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले सो निर्णय गर्नुभएको हो ।