काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार भएको पार्टीले केही पनि गर्न नसक्ने बताउनुभएको छ । पार्टीको प्रथम केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले केही गर्न नसक्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानुपर्छ । मित्र र दुस्मनलाई चिन्न सक्नुपर्छ ।’

अहिले दलाल पुँजीवाद हरेक क्षेत्रमा हावी हुँदै गएको टिप्पणी गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘दलाल पूँजीवादसँगको लडाई प्रधान अन्तरविरोध हो । नेपालको अर्थतन्त्र र राजनीतिमा यिनै दलाल शक्तिहरु हावी छन् । राजनीतिक दलका पार्टीहरूलाई यिनै दलालहरूले प्रभावित पारेका छन्, भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ । त्यो विभिन्न पार्टीमा बढ्दै जाँदा हाम्रो पङ्क्तिमा पनि बढ्दै गएको छ ।’

यस्तै पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै उहाँले हामी भन्ने प्रवृत्तिको विकास गर्दै जानुपर्ने पनि बताउनुभयो । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने अध्यक्ष नेपालको भनाई छ ।