खोटाङ – महङ्गी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासङ्घले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महङ्गी बढेको विरोधमा युवा तथा विद्यार्थी सङ्गठनले दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् ।

युवा तथा विद्यार्थी सङ्गठनले महङ्गी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेको हो । राँके जुलुस प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

भवनगैरा पुगेपछि राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र प्रदर्शनकर्ताबीचमा राँको खोसाखोस गर्न घम्साघम्सी चलेको थियो । राँके जुलुस प्रदर्शनपछि त्रिबेणीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा सरकार मुकदर्शक बनेको आरोप लगाउन्fभयो ।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासङ्घले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महङ्गी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेको थियो ।