काठमाडौं – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिरहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय तहको निर्वाचन अघि र निर्वाचनपछि केन्द्रीय सदस्यको हस्ताक्षर सङ्कलन गरिएको जसपाका नेताहरूले बताएका छन् ।

जनता समाजवादी पार्टीमा आन्तरिक विवाद चलिरहेका बेला यसरी हस्ताक्षर सङ्कलनको स्पष्ट उद्देश्य नभनिएता पनि पार्टी विभाजन गर्ने र आफ्ना मान्छेलाई मन्त्री बनाउने चर्चा चलेको भन्दै जसपाका एक दर्जन भन्दाबढी नेताले कारबाहीको माग गरेका छन् ।

शीर्ष नेताकै नेतृत्वमा हस्ताक्षर सङ्कलन भएको भन्दै जसपाका नेताहरुले पार्टीको विधानअनुसार कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।