काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गर्नुभएको छ । उहाँले फलो गर्नुभएको ८ जनामध्ये आफ्नै परिवारका सदस्य (छोरी र नातिनी) र अमेरिकी राजनीतिज्ञ रहेका छन् ।

अध्यक्ष प्रचण्डले फलो गर्नुभएकाहरुमध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ हुन् । उहाँले छोरीहरू रेनु दाहाल र गङ्गा दाहाल र नातिनी सृष्टि दाहाल केसीलाई फलो गर्नुभएको हो । यस्तै उहाँले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहनुभएको छ ।

ट्वीटरमा उहाँको आधिकारिक ट्विटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । टी्वटरले भेरीफाइ गरेको उहाँले उक्त ह्याण्डिलबाट आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गर्नुभएको छैन । ट्वीटरमा उहाँलाई ३ लाख ६३ हजार ९ सय १९ जनाले फलो गरेका छन् ।