काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताउनुभएको छ । आज आइतबार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लागु पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनुभयो ।

मन्त्री खाँणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनुभयो । उहाँले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताउनुभयो । गृहमन्त्री खाँणले लागु औषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनुभयो ।

उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो । गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।