बाँके – बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । मृतक र घाइते श्रीमान् श्रीमती भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय वासिन्दाले बिहान ९ बजेदेखि १ बजेसम्म ढकेरीमा प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । मृतकका परिवारसँग आइतबार छलफल गर्ने सहमतपछि करिब चार घण्टापछि सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।