काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले सङ्घ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जान आग्रह गरेको बताउनुभयो । उहाँले गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको उल्लेख गर्नु भएको छ । आज शनिबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित हुन पनि आह्वान गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘गठबन्धनको आवश्यकता अहिले पनि छ । हिजो बसेको पोलिट व्यूरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भएपनि कतिपय पार्टीहरुले धोका दिएको भएपनि, कतिपयले हामीलाई अपमान गरेको भएपनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दाखेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर पनि गर्वकासाथ भन्नु पर्दछ–महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नु भएको छ–मिलेरै जाऔं ।

नेपाली काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नु भएको छ – गठबन्धनको आवश्यकता छ । हामी आउने चुनावमा पनि मिलेर जाऔं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए । त्यो पनि स्वीकार गर्नु भएको छ, र ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्दछ । कहाँ–कहाँ आत्माआलोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नु भएको छ । त्यसैगरी जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ । यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि आगामी सङ्घ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाउन्भयो । उहाँले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।