काठमाडौं – सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गर्नुभएको हो । उहाँका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा परेको भन्दै मन्त्री बडुले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताउनुभयो । नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उहाँको भनाइ छ । आज शनिबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

बडुका अनुसार सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लगाउँदै आएको ट्याक्सलाई घटाएर भएपनि मूल्य घटाउनु पर्छ भनेर भन्न्भएको र सोही अनुसार निर्णय भए अनुरुप कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उहाँले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने पनि बताउनुभयो ।