काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गनर््ुभएको छ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउन्भयो । प्रधानमन्त्री देउवाले बौद्ध उच्च शिक्षालाई देशको स्रोतसाधन, सम्भावनासँग जोडेर देश विकासमा लगाउनुपर्नेमा जोड दिँदै आवश्यकता र प्राथमिकताका आधारणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१औँ शताब्दीमा पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रूपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौतीलाई अवसरका रूपमा बदल्न जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रूपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्त्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अंग हुनेगरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्त्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताउन्भयो ।