काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउन्भएको हो ।

’पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भन्नुभयो, ’पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’

आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ’त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।