काठमाडौं – आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिले गर्दा जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सहिना हुसेनले महँङ्गीले गरिब चुल्हो नबल्ने स्थिति भएको भन्दै मूल्य घटाउन माग गर्नुभयो ।

सांसद लक्ष्मी चौधरीले इन्धनमा भएको मूल्यवृद्धिले जनताले दुःख पाएको भन्दै युक्रेन रसिया युद्धलाई देखाएर मूल्यवृद्धि गर्ने काम तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले नागरिकता र सङ्घीय निजामति ऐन ल्याउन माग गर्दै उदयरपुरका जनता बाढी पहिरोको जोखिममा रहेको हुँदा त्यहाँका नागरिकलाई सरकार छ भन्ने अनुभूति दिलाउन समेत माग गर्नुभएको छ ।

यसैगरी सांसद लालप्रसाद साँवाले बर्खे बिदा आउन लाग्दासमेत विद्यार्थीले किताब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले किसानलाई मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न माग गर्नुभयो । यस्तै सांसद विना श्रेष्ठले सबै नागरिकले नागरिकता पाउनुपर्ने बताउँदै भन्नुभयो, ‘नागरिकता सबै नागरिकले पाउनुपर्छ, लाखौँ व्यक्ति नागरिकताविहीन भएर बस्नु परेको छ । विदेशमा काम गर्न, अध्ययन गर्न, बैंकमा खाता खोल्न पाएका छैनन् । नेपाली भएर पनि नागरिकताविहीन हुने स्थितिको अन्त्य होस् । नागरिकता पारित गरौँ ।’

सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाको जोखिम देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदूषणयुक्त पानीका कारण काठमाडौं हैजाको जोखिमका परेको छ । चार जना उपरचाका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा छन् । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

यस्तै सांसद बिन्दा पाण्डेले एसपीपीका सबै कागजपत्र सार्वजनिक गर्न माग गर्दै भन्नुभयो, ‘एसपीपीमा सहभागी नहुने सरकारको निर्णयको खबरदारीले सार्थकता पाएको छ । त्यसका लागि भएका सबै कागजात सार्वजनिक होस् । अवधि तोकेर सार्वजनिक गर्न माग गर्दछु । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागीताको कुरा उठेको छ । सिसिटिभी सार्वजनिक गरियोस् ।’