काठमाडौं – नेकपा एकीकृत समाजवादीले अबको केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ ।’

विभाग प्रमुख खतिवडाले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताउँदै भन्नुभयो, ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल ग¥यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्छ, पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’

उहाँले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्था समेत नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सरकारमा जाने बेला नै छ महिनामा हेरफेर हुने भन्ने सहमति गरेका थियौँ । अहिले त्यसैको कार्यान्वयन गर्न लागिएको हो । पार्टीको निर्णय कार्यान्वयन गर्दा कसैले विद्रोह गर्ने भन्ने हुँदैन, अहिले त्यस्तो विद्रोहको कुनै सम्भावना छैन ।’ एकीकृत समाजवादीको भोलिदेखि बस्ने पोलिटब्युरो बैठक, केन्द्रीय कमिटी बैठक र केन्द्रीय परिषद् बैठकका लागि प्रस्तावहरू तयारीबारे सचिवालय बैठकमा छलफल भइरहेको पनि प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।