काठमाडौं – पूर्वप्रधानमन्त्री तथा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएको बताउनुभएको छ । जनप्रतिनिधिलाई प्रशिक्षण दिन आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले संविधानको रक्षा र उत्पीडित वर्गले पाएका अधिकारको रक्षाका लागि माओवादीले नै जित्नुपर्ने बताउनुभएको हो ।

उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, “जनयुद्धका बेलामा कीर्तिमान कायम गर्ने गरी लागेका थियौँ । यो निर्वाचन माओवादीका लागि जीवन मरणकै लडाईं हो । यो संविधान बच्छ कि बच्दैन, उत्पीडितले पाएको अधिकार बच्छ कि भन्ने छ । आफ्नो बलियो तयारीमा ध्यान दिनुस् । आफ्नै सङ्गठन सुदृढ गर्नतर्फ लाग्नुस् । सदस्यता बढीभन्दा बढी बढाउनुस् ।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा आफैँ जित्ने गरी बलियोसँग लाग्न र सङ्गठन विस्तारको कामलाई योजनाबद्ध तरिकाले गर्न निर्देशन समेत दिनुभयो ।