फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालयको बैठक सुरु भएको छ । सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

अहिले जारी बैठकमा पार्टीले दुई साताअघि मन्त्री फेरबदल गर्न ढिलाइ भएको विषय र पार्टीका अन्य बैठकहरुका बारेमा छलफल चलिरहेको सचिवालयले जनाएको छ । गत जेठ २२ गते बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने र मन्त्रिमण्डलमा नयाँ अनुहारकालाई पठाउने निर्णय गरेको थियो ।

सचिवालयको निर्णयसँगै वर्तमान मन्त्रीहरुलाई फिर्ता बोलाउने र मन्त्रिमण्डलमा समावेश गरिने नयाँ नामहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको थियो । पार्टी सचिवालयको बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै केही नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्दै आएका छन् ।

जारी सचिवालय बैठकमा पार्टीका अरू बैठकको तयारीका विषयमा पनि छलफल छ । एकीकृत समाजवादीको पोलिटब्युरो, केन्द्रीय कमिटीलगायत बैठक बोलाइएको छ ।