काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो ।

फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्टाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन सङ्कलन गर्ने पनि सूचनामा जनाइएको छ ।