काठमाडौं – गोर्खा भुतपुर्व सैनिक सङ्गठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगी भेटवार्ता गरेको छ । गेसोले गोर्खा मुद्दाको दीगो समाधानका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने बताउँदै प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

सन् १९९७ भन्दा पहिले बेलायती सेनाबाट अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको गुनासो गर्दै आएका छन् । तर बेलायती सरकारले भेदभाव गरिएको भन्ने उनीहरुको भनाइलाई अस्वीकार गर्दै आएको छ । बेलायत सरकारले पेन्सनलगायत मागबारे पुनरविचार हुन नसक्ने बताएको छ ।

गेसोले गोर्खा मुद्दाको दीगो समाधानका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने बताउँदै आएको छ । ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्षभन्दा लामो छ । तर सन् १९४७ मा नेपाल, भारत तथा ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा सैनिक भर्तीलाई व्यवस्थित गरिएको थियो ।