फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई राज्यकोषबाट क्षतिपूर्ति रकम दिन माग गरिएको छ । आज बिहीबार बसेको उक्त बैठकमा समितिका सदस्य सांसदहरुले पीडित महिलाहरुलाई क्षतिपूर्ति वापत रकम दिने व्यवस्था गन माग गरेका हुन् ।


समितिको बैठकमा सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिंदा पीडितको आत्मसम्मानमा आँच पुग्न सक्नेहुुँदा त्यस्ता पीडित महिलाहरुलाई राज्यकोषबाटै क्षतिपूर्ति दिनु राम्रो हुने धारणा राखेका थिए ।
बैठकमा बोल्दै समितिका सभापति कृष्णभक्त पोखरेलले ‘जरिवानाको पैसा पीडितलाई दिँदा पीडकले मेरो पैसा खाएकी छे, त्यही पैसाले घर बनाएकी छे, जग्गा लिएकी छे भन्ने प्रवृत्ति देखिएको भन्दै ‘यसबारेमा अर्थ मन्त्रालयसँग पनि छलफल गरेर पीडितलाई राज्यकोषबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि पहल गर्नुपर्छ’– भन्नुभयो ।

बैठकमा समिति सदस्य बिन्दा पाण्डले पीडित महिला तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिंदै पीडकलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा रहन अयोग्य हुने व्यवस्था गर्नु पर्ने धारणा राख्नुभएको थियो । यौन हिंसा र बलात्कारको मुद्दामा उजुरीका लागि हदम्याद राख्नै नहुने समितिकी सदस्य सांसद् पाण्डेको जोड थियो । सरकारले यौन हिंसा र बलात्कारको मुद्दामा उजुरीको विद्यमान हदम्यादलाई हटाउन सांसदहरुले आवाज उठाउँदै आएका छन् ।