भक्तपुर – भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको र मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।