फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाले खर्च विवरण नबुझाए कारबाहीको सिफारिस गर्न निर्देशन दिएको छ । आयोगले मातहतको कार्यालयलाई निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउन निर्देशन दिएको हो ।

आयोगकाअनुसार स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार मत परिणाम घोषणा भएको मितिले ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचन ऐन र नियमावलीअनुसार उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने मिति नाघिसकेको छ ।

‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उमेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीका लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।