काठमाडौं – गैरआवासीय नेपाली सङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घको सचिवालयमा आज आयोजित एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

यस कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गर्नुभएको हो । सङ्घका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतव्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो । पुनले सङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभएको छ । उहाँले विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सिर्जना हुने बताउनुभयो ।

उहाँले राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभइ पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिनुभयो । गैरआवासीय नेपाली सङ्घले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने बताउनुभयो । सङ्घका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताबाट प्रतिवद्धता गरिएको रकममध्ये सङ्घको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै सङ्घले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।