चितवन – जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । भोलि अर्थात् असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज पत्रकारसँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो ।

असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो । कार्यालयका निमित्त प्रमुख केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुनेछ । जिल्लामा रहेका ७० हजार ३ सय ८२ बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिइने बताइएको छ । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४ सय १२, रत्ननगर नगरपालिकामा ८ हजार ३ सय ७१, खैरहनी नगरपालिकामा सात हजार ३ सय ५० बालबालिकालाई खोप दिइँदैछ ।

यस्तै कालिका नगरपालिकामा चार हजार १ सय ९२, राप्ती नगरपालिकामा आठ हजार ९ सय १४, माडी नगरपालिकामा पाँच हजार ३ सय ६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७ सय ८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख केसीका अनुसार अभियानका लागि ७६ हजार ८ सय डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५ सय ४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा ९ सय ४४ स्वास्थ्यकर्मी र एक हजार ३ सय ९४ स्वयंसेवीका परिचालन हुने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २ सय १४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ । माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको कार्यालयका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँले हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ । दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताउनुभयो । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९ सय २५ जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै चार लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ९३ हजार ४ सय ७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उहाँले बताउनुभयो । जिल्लामा हालसम्म ३३ हजार ५ सय ५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३३ हजार १ सय ५ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अहिले जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।