काठमाडौं – संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटको सुनुवाइ हुन लागेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै २०७७ मङ्सिरमा अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता हरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि उक्त मुद्दामा संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी भएको थियो । म्याद तामेलीका समय सकिएपछि आजको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।