काठमाडौं – काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक देखाएका ३३ वटा सङ्घ संस्थासँग सम्झौता गरेको छ । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग सम्झौता गरेको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । यस्तै, दोस्रो पक्षका तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको छ । नबिल बैंकसँग यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता आगामी पाँच वर्षका लागि हो । यस अवधिमा सङ्घसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।

यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाई गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १–१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी सङ्घ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो । प्रकाशित सूचनाका आधारमा सात दिनमा ३८ वटा सङ्घ–संस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको छ । गोलो रेखाभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले‘ सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

यी हुन् सम्झौता गरिएका सङ्घ संस्थाहरू:
१) टाइम्स स्क्वायर, लज एन्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्बी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
६) होटल रत्नज्योति, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रा.लि., शंखमुल
८) खानेकुरा प्रा.लि., गौशाला
९) सांग्रिला डिभलपमेन्ट बैंक, बालुवाटार
१०) बेबिलोन नेसनल स्कुल, शान्तिनगर
११) ओटीसी किचेन रेस्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) वसुन्धरा एन्ड गोंगबु एरिया रेस्टुरेन्ट, वसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
१५) घराना लन्च एन्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा.लि., पुतलीसडक
१९) आरडीएक्स बार प्रा.लि. ठमेल
२०) नेपालगञ्ज बिरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार
२२) बार्दली रेस्ट्रो एन्ड मिटिङ, शंखमूल
२३) नेसनल बिजनेस ट्रेड सेन्टर, कलंकी
२४) सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
२५) बिन्का लङ, छाउनी
२६) प्रोग्रेसियो विस्ट्रो पिबिज रेस्टुरेन्ट, बौद्ध
२७) मिलाल्यान्ड डेभलपमेन्ट प्रा.लि., कलंकी
२८) क्रिम्पजी एडभान्चर हब, बौद्ध
२९) बर्गर हब एन्ड केसीए चिकेन, बिजुलीबजार
३०) अनुपम फुडल्यान्ड, बत्तिसपुतली
३१) रिट्रिप क्याफे, बौद्ध
३२) चिकेन स्टेसन
३३) स्तुपा हब, बौद्ध