फाइल तस्वीर
काठमाडौं– नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि बन्दगर्ने भनिएको सबै क्षेत्रका उडानहरु बिहान ११ बजेदेखि सुचारु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने जनाएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हिजो मङ्गलबार हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने चेतावनी दिएका दिनुभएको थियो । महानिर्देशक अधिकारीले ‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौं’ भन्नुभएको थियो ।

प्राधिकरणले हिजो मङ्गलबार जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ, त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो । यसै विषयमा वायुसेवा सञ्चालक सङ्घले विरोध जनाएको थियो ।