फाइल तस्वीर
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राविधिकरणले हवाई उडान नियमित गर्न नेपाल वायु सेवा सञ्चालक सङ्घलाई निर्देशन दिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि देशैभरका हवाई उडानहरु बन्न गर्ने घोषणा गरेपछि प्राधिकरणले हवाई उडान नियमित गर्न निर्देशन दिएको हो ।

वायु सेवा सञ्चालक सङ्घले आज देशैभरका हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारीपूर्ण भएको भन्दै हवाई उडानलाई नियमित रूपमा सञ्चालन गर्न निगमले एक विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको छ ।

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौंबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि उक्त सङ्घले सोही निर्णयको विरोधमा देशभरका आन्तरिक उडानका सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । सरकारको यस्तो निर्णयबाट भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएको संघको आरोप लगाएको छ । यस्ता दुरगामी निर्णय गर्दा सरकारले हवाई कम्पनीहरूसँग छलफल गर्नुपर्ने बताएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको चाप र पार्किङमा समस्या देखिन थालेको भन्दै आन्तरिक उडान गर्ने केही जहाजहरुलाई बाहिरका विमानस्थानमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो । सोही विषयलाई लिएर सङ्घले आज बुधबारदेखि आन्तरिक सेवाका सबै उडानहरु बन्द गरेको छ ।

यता नागरिक उड्डयन प्राविधिकरणले भने अचानक उडान बन्द गर्नाले आम नागरिकमा ठूलो असर पर्ने र कानुनमा पनि हवाई उडानमा हड्ताल गर्न निधेष लगाइएको बताउँदै कानुन विपरित यस्तो काम नगर्न चेतावनी सहितको निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिलेसम्म आन्तरिक उडान भर्ने कुनै पनि कम्पनीहरुका जहाज उडेका छैनन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिसहितको निर्देशनलाई वायु सेवा सञ्चालक सङ्घले बेवास्ता गरेको छ ।