काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, बागमती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।