लेवनानका प्रधानमन्त्री मिकाती र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा । तस्वीर सौजन्यः नेपाली सेना


काठमाडौं – लेवनानको भ्रमणमा पुग्नु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र त्यहाँका प्रधानमन्त्री नाजीव आदमी मिकातीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । शान्ति स्थापनार्थ लेवनानमा रहेको नेपाली सेनाको युनिटको निरीक्षण गर्न लेवनान पुग्ने भएका प्रधानसेनापति शर्मा र लेवनानी प्रधानमन्त्री मिकातीबीच शिष्टाचार भेट भएको हो ।

लेवनानी प्रधानमन्त्री र नेपाली सेनाका प्रमुखबीच लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका जनाएको छ ।

लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औनसँग पनि शिष्टाचार भेट गर्नुभएको निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्मा असार ४ गते शनिबार लेवनान जानुभएको हो । प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते सोमबार अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । अमेरिका भ्रमण सकेर प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुनुहुने निर्देशनालयले जनाएको छ ।