फाइल तस्वीर

काठमाडौं – सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले नै संसदमा चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका हुन् ।

आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर नेपाली काङ्ग्रेस सांसद गौतमले असार १५ बित्न लाग्दासमेत मलको अझै व्यवस्था गर्न नसकेको भनि सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । सांसद गौतमले जनता महङ्गीको मारमा पिल्सिएको र निराशा बन्न थालेको भन्दै किसानहरुलाई तत्काल मल उपलब्ध गराउनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैगरी माओवादी केन्द्रकी सांसद धर्मशिला चापागाईंले आफ्नो निर्वाचन क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एउटा पनि बजेट नपारेको भन्दै सरकार र अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश व्यक्त गरिन् । गत माघ महिनादेखि जनताका सरोकारका योजनाहरुमा बजेट हाल्नका लागि अर्थमन्त्री जनार्दन शर्मासँगै कुरा गरेको उल्लेख गर्दै उनले त्यहाँ किन बजेट नपारेको हो, जनतालाई तत्काल जवाफ दिन सांसदहरुले सरकारसँग माग गरेका छन् ।

बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद चापागाईं र नेकपा (एकीकृत समाजवादी) की सांसद पार्वतीकुमारी बिसुन्केले जनतालाई अझै मलको व्यवस्था गर्न नसकेको, आगामी आर्थिक वर्षको बजेटमा आफ्ना निर्वाचन क्षेत्रका लागि कुनै पनि बजेट विनियोजन नगरेको, महङ्गीले जनता मारमा पर्दा पनि राहत दिने तयारी नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद बिसुन्केले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको नामै लिन सरकारले नचाहेको भन्दै उक्त आयोजना नेपाली लगानीमै सम्पन्न गर्ने गरी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । सांसद बिसुन्केले नेपालको जलविद्युत निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने उक्त आयोजनाको काम अघि बढाउन किन बिलम्व गर्नु परेको भन्दै सरकार जवाफ दिन आग्रह गरेकी छन् ।