काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिनुभयो ।

“राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि यहाँहरूले यो विषय उठाउनुभएको छ, सदनमा उठेका विषयमा संसद्मार्फत जनतालाई जवाफ दिनु सरकारको दायित्व पनि हो । यसतर्फ म सरकरको गम्भीर ध्यानाकर्षण गराउँछु । अर्को बैठकमा संसद्मा दिन निर्देशन गर्दछु ।” अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको काम–कारबाही अगाडि बढ्न नसक्ने र आफूहरूको विरोध रहिरहने बताउनुभयो । उहाँले मूल्यवृद्धिबाट प्रभावित जनतालाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउन माग गर्नुभयो ।

एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले आजको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगनको घोषणा गर्नुभएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथिका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो । राष्ट्रियसभाको अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । रासस