काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दलसँग संवादहिनता बढाएको आरोप लगाउनुभएको छ । आज पूर्व राजदूतहरूसँगको अन्तर्क्रिरयामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय मामिलाका सवालमा पनि प्रतिपक्षीसँग संवाद गर्ने परम्परालाई सत्ता गठबन्धनले तोडेको आरोप लगाउनुभएको हो ।

’२०४६ सालयताकै सबैभन्दा खराब स्थिति अहिले छ । सरकारले कुनै पनि विषयमा प्रतिपक्षी दलसँग संवाद गरेको छैन,’ ओलीले भन्नुभयो, ’बाहिर जाने सवालमा होस् वा अन्य विषयमा प्रमुख प्रतिपक्षी र विज्ञहरूसँग छलफल गर्ने चलन हुन्थ्यो ।’

मुलुकको सार्वभौमसत्तालाई ध्यानमा राख्दै सन्तुलित कूटनीति अघि बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो–’हामीले छिमेकसँग एउटा नीति र अर्कोसँग अर्कै नीति गर्नु हुँदैन । छिमेकीहरूको हितविपरीत अर्को पक्षसँग अघि बढ्नुहुँदैन ।’