फाइल तस्वीर
काठमाडौं – नेपाली सेनाका प्रमुख महारथी प्रभुराम शर्माले लेवनानस्थित युनिफिल मिसनमा तैनाथी नेपाली सेनाका बटालियनको हेडक्वाटर पुग्नु भएको छ । प्रधानसेनापति शर्माले सोमबार उक्त हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्नुभएको छ ।

उक्त अवसरमा प्रधानसेनापति शर्माले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिक र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकलाई उनीको योगदानको कदर गर्दै ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गर्नुभयो ।

प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यहरुले सोमबार नै युनिफिल हेडक्वाटरको समेत भ्रमण गर्नुभएको छ । सो अवसरमा प्रधानसेनापति शर्माले युनिफिल मिसन लेवनानका ‘हेड अफ मिसन’ मेजर जनरल अरोलोडो लाजारो सेन्जसँग शिष्टाचार भेट गर्नुभएको जङ्गी अड्डाले जनाएको छ ।

नेपाली सेनाका प्रमुखसँगको भेटका अवसरमा मेजर जनरल अरोलोडोले लेवनानमा शान्ति स्थापनाका लागि युनिफिल मिसनमा स्थापनाकालदेखि नै नेपालको निरन्तर सहभागिता तथा व्यावसायिकताको खुलेर प्रशंसा गर्नुभएको थियो । भेटका अवसरमा प्रधानसेनापति शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि युनिफिलको म्यान्डेट अनुरुप कार्यसम्पादन गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको र युनिफिलमा नेपाली सेनाको निरन्तर सहयोग रहने बताउनु भएको छ ।

प्रधानसेनापति शर्माको सम्मानमा युनिफिल फोर्स हेडक्वाटरको एक टुकडीले सम्मान गारतसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।