काठमाडौं – सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरे देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजना समेत बन्द गरी आन्दोलन गर्ने नेपाल निर्माण व्यवसायी महासङ्घले चेतावनी दिएको हो ।

‘कन्स्ट्रक्शन होलिडे’का बीच पनि एक हप्ताभित्रै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने महासङ्घले चेतावनी दिएको छ । पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रुपैयाँ बढेपछि रुग्ण अवस्थामा रहेको निर्माण क्षेत्र थप आक्रान्त बनेको नेपाल निर्माण व्यवसायी महासङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘इन्धनमा मूल्य वृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवम् अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको छ, निरन्तर मूल्य वृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण क्षेत्रको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर, जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौँ निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौँ श्रमिकको बिचल्ली हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेको महासङ्घको ठहर छ । यस्तै सार्वजनिक निकायहरूले बैंक ग्यारेन्टी दाबी गरी ठेक्का तोडी कालोसूचीमा राख्न सिफारिस गर्ने जस्ता कार्य गरेकोमा समेत महासङ्घले आपत्ति जनाएको छ ।