प्रतिकात्मक तस्वीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासि आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ना४ख ७८८८ नं को उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासि आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिनुभयो । उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने भएन । समयमै ट्याङ्करमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन् । रासस