फाइल तस्वीर
काठमाडौं – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नेतृत्वमा पङ्कजबिक्रम नेम्वाङ निर्वाचित भएका छन् । एन्फाको हिजो सोमबार सम्पन्न साधारणसभाले नेम्वाङलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

नेम्वाङ अध्यक्षमा निर्वाचित मात्रै भएनन् कार्यसमितिमा समेत स्पष्ट बहुमत प्राप्त गरेका छन् । एन्फाको नवनिर्वाचित कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जना र निवर्तमान कर्माछिरिङ शेर्पाको प्यानलबाट एक जना उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् ।

लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन ।

अध्यक्षमा निर्वाचित नेम्वाङले ४५ मत पाएर विजयी भएका थिए भने उनका निकटम प्रस्तिपर्धी निवर्तमान अध्यक्ष शेपाले ३९ मतमात्रै प्राप्त गरेका थिए । चार वर्षे कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष नेम्वाङले नेपाली फुटबलको भाग्य विधाता भन्न सक्छन् कि सक्दैनन् त्यो त कालान्तरमा गएर पुष्टि होला नै ।

एन्फाको इतिहास कहिले विवादरहित बन्न सकेन । चरम विवाद र भ्रष्टाचारमा जेलिएको एन्फालाई नयाँ नेतृत्वमा उदाएका पङ्कजविक्रम नेम्वाङले सफा बनाउलान भन्ने त छैन । उनी गत वर्ष नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादमा तानिएका थिए । त्यतिबेला अलमुताइरीले यिनै नम्वाङको कारण देखाउँदै राजीनामाको घोषणा समेत गरेका थिए ।

अहिले मुख्य प्रशिक्षक अलमुताइरी र राष्ट्रिय टिमका ११ खेलाडीबीचको विवादले पनि नेपाली फुटबललाई अधोगतितिर धकेलिदिएको छ । नेम्वाङले एन्फाको अघिल्ला नेतृत्वभन्दा के चाहिँ फरक र महत्वपूर्ण काम गर्लान्र भन्ने पनि छ । अहिलेसम्मका एन्फाका नेतृत्वले फुटबलका नाममा कमाउधन्दा बाहेक खासै केही गर्न नसकेको आरोप लाग्दै आएको छ । नेपाली फुटबलले गतिलिनुको सट्टा झन झन खस्कंदै गएको देखिन्छ ।

दुई दशकदेखि एन्फामा रहेका नेम्वाङ जिल्ला सङ्घदेखि राष्ट्रिय टिमसम्मको विवादलाई निराकरण गर्दै सङ्गठित र बलियो एन्फा बनाउने चुनौती छ । विश्व फुटबल महासङ्घ (पिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) सँग पनि एन्फाका सम्बन्ध धमिलिएको छ । त्यसलाई सुधार गर्न नयाँ नेतृत्वका निम्ति चुनौती नै देखिन्छ ।

अन्तर्राष्ट्रिय फुटबल संस्थासँगको सम्बन्धमा सुधार, भ्रष्टाचारमुक्त र विवादरहीत एन्फाका साथै नेपाली राष्ट्रिय टिमको स्तर उकास्न सकेमात्र नवनिर्वाचित अध्यक्ष नेम्वाङको नेतृत्व सफल भएको ठहर्नेछ । अन्यथा एन्फाको नेतृत्व परिवर्तनको कुनै सार्थकता रहनेछैन ।