काठमाडौं – हाल देशको प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव कायमै रहेको छ । अहिले बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

प्रदेश–१ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आज उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । प्रदेश १ का केही र मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।