फाइल तस्वीर
काठमाडौं – सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्गत रहेको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकोले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको बताउनु भएको हो ।

आज सोमबार बसेको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बारेमा प्रश्न उठाएपछि मन्त्री बडूले यस्तो जवाफ दिनु भएको हो ।

मन्त्री बडुले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताउनु भयो । ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’ मन्त्री बडुले भने, ‘अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ’ मन्त्री बडूको भनाइ थियो ।

मन्त्री बडूले इन्धनमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर घटाएर मूल्य कम गरेको दावीसमेत गर्नुभयो । उहाँले कर घटाएर सस्तोमा पेट्रोलियम पदार्थ दिने प्रयास गरे पनि तत्काल प्रतिलिटर १० रुपैयाँभन्दा कर घटाउन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको उल्लेख गर्नुभयो ।