फाइल साङ्केतिक तस्वीर
काठमाडौं – सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मुलुकमा एकलौटी रुपमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएको नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्यमा बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आजदेखि लागु हुने निगमले जनाएको छ ।

निगमले मूल्य वृद्धिगरेसँगै पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ । हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुग्दा अन्तर्राष्ट्रिय हवाई इन्धनको १ सय अमेरिकी डलरले मूल्यवृद्धि भएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने नबढाइएको नेपाल आयल निगमले जनाएको छ । यो मूल्य वृद्धिसँगै हरेक क्षेत्रमा महङ्गी बढ्ने भएको छ । मुख्यतया भाडाका सवारी साधनको वृद्धिले हरेक सामानमा मूल्य बढ्न जानेहुँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताहरुमा पर्ने भएको छ ।