फाइल तस्वीर
काठमाडौं – पाँच दलीय गठबन्धनको एक सदस्य दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि गठबन्धन दलहरुबीच सीट बाँडफाँट गर्न छलफल सुरु गर्नुपर्ने बताउनु भएको छ । एसका अध्यक्ष नेपालले आज आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

गठबन्धनका दलहरुबीच मापदण्ड बनाएर सङ्घ र प्रदेशको सीट बाँडफाँट थाल्नु पर्ने बताउँदै अध्यक्ष नेपालले ‘सङ्घ र प्रदेशको सीट बाँडफाँटका लागि मापदण्ड बनाएर छिटो छलफल थालिनु पर्छ । हाम्रो जोड पनि त्यसैमा छ’– भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमाभन्दा सङ्घ र प्रदेशको निर्वाचनमा सीटको भागबण्डा गर्न सजिलो रहेको नेता नेपालको भनाइ थियो । स्थानीय तहको निर्वाचनमा तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहलाई नै दिइएको तर प्रदेश र सङ्घको निर्वाचनमा केन्द्रबाटै भागबण्डा गरिने हुँदा सजिलो रहेको भन्दै नेपालले ‘स्थानीय तहमाभन्दा माथि सीट बाँडफाँट सजिलो छ’ भन्नुभएको छ ।