फाइल तस्वीर
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दा अब छिट्टै सम्बोधन हुने भएको छ ।
काठमाडौंमा आयोजित नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मताधिकार सम्बन्धी मागको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘बोल्न त धेरै सजिलो छ । तर, कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु । कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ,’ भन्दै जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार भएको जिकिर गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो ।

‘साथै आउँदो आर्थिक वर्षबाट केही दुतावासहरूमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदातानामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दैछ भन्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले तयारी दुतावासबाट प्रारम्भ हुन्छ, भन्नुभएको छ ।