फाइल तस्वीर
काठमाडौं– मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा देशको मौसम फेरबदली भैरहेको छ । विशेष गरी देशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएता पनि मध्य र सुदूरपश्चिम क्षेत्रमा मनसुनको प्रभाव न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतको तुलनामा यो पटक नेपालमो एक साता अघि नै मनसुन भित्रिएको भएता पनि पश्चिनक्षेत्रमा विस्तार हुन सकेको छैन । देशको पूर्व क्षेत्रमा मात्रै मनसुन केन्द्रीत भएको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभाव प्रदेश एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्रै केन्द्रीत रहेको र बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरीको प्रभाव देखिएको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा भैरहेको छ ।

आइतबार बिहान पनि बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । दिउँसो प्रदेश एक, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षा हुनसक्ने सम्झावन रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि सामान्य वर्षाको सम्भावना छ ।

वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।