फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’ का लागि भएका पत्राचारहरुको कागजात मागेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको उक्त समितिको बैठकले परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययन गर्न पात्राचार भएका काजगातहरु माग गरेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले सरकार तथा नेपाली सेनाबाट भएका पत्राचार समितिलाई उपलब्ध गराउन निर्देशन सम्बन्धित पक्षहरुलाई निर्देशन दिनु भएको छ । समितिको बैठकमा छलफल गर्दै ईश्वर पोखरेल, डा.भीम रावल लगायतका सांसदहरुले एसपीपीबारे छानविन गर्नु पर्ने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गर्नुभएको थियो ।

आज बसेको उक्त समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एजेण्डाबारे जानकारी गराउन असार ५ गते आइतबार प्रधानमन्त्री देउवालाई समितिको बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ । समितिकी सभापति खरेलले प्रधानमन्त्री देउवालाई स्पष्टिकरण लिनका लागि बोलाउने नभई उहाँको धारणा बुझ्न र वास्तविकता के हो त भन्ने बारेमा प्रष्ट हुनका लागि बोलाइएको बताउनु भयो । सरकार परिवर्तन हुनु एउटा कुरा हो, सरकार फेरिंदैमा नेपालको परराष्ट्रनीति फेरिन नहुने उल्लेख गर्नुभयो । बैठकमा बोल्दै समितिकी सभापति खरेलले चीन र भारत दुवै नेपालको छिमेकी राष्ट्र रहेकोले सबैसँग समान कुटनीतिक सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।